यूरोपका रोमेनिआ र जर्मनीसँग औपचारिक श्रम सम्झौता

पाेखरा | असोज २०, २०८०

यूरोपका रोमेनिआ र जर्मनीसँग औपचारिक श्रम सम्झौता तस्बिर: बीबीसी

नेपालले १९ असोजमा पूर्वी युरोपेली देश रोमेनिआसँग श्रम सम्झौता गरेको छ भने २३ असोजमा युरोपकै अर्को देश जर्मनीसँग श्रम सम्झौता गर्ने मिति तय गरेको छ ।

 

हजारौँका संख्यामा नेपाली श्रमिकहरू युरोपमा काम गरिरहेको भए पनि यसअघि नेपालको कुनै पनि युरोपेली देशसँग श्रम सम्झौता भएको थिएन ।

 

यी दुवै युरोपेली संघ ईयू सदस्य राष्ट्रहरू हुन् ।

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले ‘न्यूनतम तलब, सामाजिक सुरक्षा र अन्य गुणस्तरीय दैनिक जीवनका पक्षमा युरोपेली देशको मापदण्ड निकै उच्च भएकाले’ सोही अनुसार त्यसतर्फ केन्द्रित हुन खोजिएको बताउँछन् ।

 

मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखाका प्रमुख राजीव पोखरेलले बीबीसीसँग भने, “श्रमिकहरूको सामाजिक हकहित र सुरक्षाका विषय त्यहाँका आन्तरिक कानुन नै बलियो भएकाले त्यसलाई नसमेटिकनै हुने यी पहिलो चरणको सम्झौता हुन् ।“

 

विदेशमा भएका नेपाली कामदारलाई सघाउन सरकारले के गर्न सक्छ ?
नेपाल वैदेशिक रोजगार व्यावसायिक संघका अध्यक्षले युरोपेली देशमा धेरैजसो दक्ष जनशक्तिको माग हुने भएकाले यस सम्झौतासँग मेल खानेगरी नेपालमा त्यसको तयारी गर्न प्रेरित भइने बताउँछन् ।

 

संघका अध्यक्ष राजेन्द्र भण्डारी भन्छन्, ‘मुख्यरूपमा यसबाट नेपाली श्रमिकका लागि युरोपेली श्रम बजार समेत खुला छ भन्ने सन्देश गएको छ । कार्यक्षेत्रको सुरक्षा, मानवअधिकार, श्रम कानुनका मापदण्ड राम्रो भएको ठाउँमा जान पाउनु सुखद कुरा हो ।’

 

रोमेनिआमा विभिन्न अनौपचारिक प्रक्रियाबाट गएर काम गर्ने नेपालीहरूको सङ्ख्या २५ हजार नाघिसकेको र जर्मनीमा मुख्य रूपमा विद्यार्थीका रूपमा गएर काम गर्नेहरू सहित ८ हजार हाराहारीमा नेपालीहरू रहेको श्रम अधिकारीहरूको आंकलन छ ।

 

रोमेनिआ सरकारको विवरणमा भने हाल त्यहाँ साढे १५ हजार नेपाली श्रमिकहरू रहेको बताइएको छ जुन ईयूबाहिरको देशबाट कार्यरत दोस्रो उच्च संख्या हो ।

 

सम्झौता अनुसार जर्मनीमा प्रशिक्षार्थी श्रमिकका रूपमा गएर एक वर्ष त्यहाँ सीपमूलक तालिम लिएपछि मात्र श्रम बजारका लागि योग्य हुनेछन् ।

 

रोमेनिआमा अहिले नै उल्लेख्य संख्यामा नेपालीहरू श्रमिकका रूपमा रहेकाले उनीहरूको हक अधिकारलाई व्यवस्थित गर्न यस सम्झौताले सघाउने अधिकारीहरूको विश्वास छ ।

 

नेपाल सरकारले हालसम्म मलेसिया, कतार र कोरियासहित नौवटा देशसँग मात्रै द्विपक्षीय श्रम सम्झौता गरेको छ ।

 

नेपालबाट विभिन्न १११ देशमा संस्थागत रूपमा कामदार जाने गरे तापनि द्विपक्षीय श्रम सम्झौता नभएका कारण नेपालीहरू श्रमिकले पाउने कतिपय हक र अधिकारबाट वञ्चित हुँदै आएको विज्ञहरू बताउँछन् ।

 

व्यक्तिगत रूपमा हाल नेपालीहरू विश्वका १७८ मुलुकमा कामका लागि जाने गरेको सरकारी तथ्यांक छ । 

 

-बीबीसीकाे सहयाेगमा

काठमाडौं:   विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ । आइतबार बिहान ६ः३० बजे कलेजको भवनको पाँचौ तलाबाट खसेका डा. अमित यादवको उपचारकोक्रममा मृत्यु भएको हो । ट...

थप पढ्नुहोस्

ढोरपाटन:  बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू ब...

थप पढ्नुहोस्

पोखरा: साहित्यकार एवम गीतकार चन्द्रावती वाग्लेको नयाँ कृति ‘कहरको त्यो समय’ एक कार्यक्रमका बीच आज लोकार्पण गरिएको छ ।      गिताञ्जली साहित्य परिवार पोखरा र नारी बाङ्मय प्रतिष्ठान ...

थप पढ्नुहोस्